काठमाडौँ, १४ वैशाख । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
अमृत गुरूङलाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने तथा अष्ट्रेलियाको प्रतिष्ठित कम्पनीमा काम लगाइ मासिक ३ लाख रूपैयाँभन्दा बढी तलब हुने भनी विश्वास दिलाई पटक–पटक ३० लाख रूपैयाँ लिइ उनी सम्पर्कविहीन भएकी थिइन् ।
३० लाख रूपैयाँ ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।