विश्वासको मत नपाएपछि लुम्बिनीमा ढल्यो एमाले नेतृत्वको सरकार

63

काठमाडौँ, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । गिरीको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक संख्या ४४ पुर्‍याउन नसक्दा लुम्बिनीमा गिरी सरकार ढलेको हो ।

गिरीको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए ।

पुस २७ गते लुम्बिनीमा माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले फागुन ५ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

केन्द्रमा माओवादी केन्द्रले नेकपा (एमाले)सँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो ।

गत चैत १२ गते गिरी नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्रसहित ६ दलले समर्थन फिर्ता लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...