काठमाडौँ, २८ चैत । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टिआरसी)लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठकमा टिआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।
विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न उक्त दल सहमत भएका छन् । अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी समय तोकिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।