बिमा रकम ठगी गर्ने थप दुई जना कर्मचारी पक्राउ

41

काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमा वापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार बोर्डमा कार्यरत ३६ वर्षीय नायब सुब्बा (कम्युटर अपरेटर) पशुपति अधिकारी र सूर्यज्योति लाइल इन्स्योरेन्स कम्पनीमा कार्यरत ३० वर्षीय उमेश बुढाथोकीलाई पक्राउ गरेको हो ।

विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बिमा कम्पनीको लेटरप्याडलगायतका महत्वपूर्ण अन्य विविध कागजातहरूसहित फेला पारी उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

यस प्रकरणमा चैत २३ गते प्रहरीले सर्लाही लालबन्दी–८ का ३४ वर्षीय विनोद कुमार लामा, ४० वर्षीय डिक बहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाश बहादुर गोले र सर्लाही हरिबन नगरपालिका–२ का ३९ वर्षीय रूद्रमान गोलेलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका उनीहरूले विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकमबाट पाउने १३–१४ लाख रूपैयाँबाट ७–८ लाख रूपैयाँ ठगी गरेको खुलेको थियो ।

वैदेशिक रोजगारीमा गइ कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बिमा वापत क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै, वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था छ ।

उनीहरूले बिमा रकम दिलाउने भन्दै मधेसबाट मृतकका आफन्तलाई काठमाडौँ ल्याएर राख्ने र ठगी गर्ने गरेको खुलासा भएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...