पेरिस ओलम्पिक छनोट : भियतनामविरूद्ध जित निकाल्ला नेपालले ?

114

काठमाडौँ, २५ चैत । नेपाली राष्ट्रिय महिला टोलीले आज भियतनामसँग पेरिस ओलम्पिक छनोटको दोस्रो खेल खेल्दै छ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरू हुने छ ।

यसअघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हाबी भएको थियो ।

यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ । समूह ‘सी’मा नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए ।

पहिलो खेलमा ५–१ ले पछि परेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर छ । प्रशिक्षक अनन्तराज थापाले दोस्रो खेलमा सकेसम्म स्तरीय प्रदर्शन गर्ने बताए ।

नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नु पर्ने छ । भियतनामविरूद्ध यो अन्तरको जित निकै मुस्किल हुने प्रशिक्षक थापाको भनाइ छ । यद्यपि, पहिलो खेलमा भएको गल्ती सच्याउने मौकाका रूपमा दोस्रो खेललाई हेरेको उनले जनाए ।

नेपाली टोली पहिलो खेलमा गरेको गल्तीलाई सुधार्दै मैदान उत्रने रणनीतिमा हुनेछ । पहिलो खेलमा डिफेन्सिभ लाइन कमजोर देखिएको नेपाली टोली आजको खेलमा सुधारिएको खेल पस्कनुपर्ने छ ।

पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...