लाखौँ रूपैयाँ ठगी एक महिला फरार

68

बारा, २४ चैत । बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रूपैयाँ ठगेर फरार भएकी छन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम फेन्सी पसल सञ्चालन गर्दै आएकी निलु नामले परिचित मनिला गौतमले दर्जनौ महिलासँग लाखौँ रूपैयाँ सापटी लिएर फरार भएकी हुन् ।

फरार ३३ वर्षीया महिला गौतमले विभिन्न महिलाहरूसँग थप टिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने तथा श्रीमान्‌लाई विदेश पठाउनका लागि पैसा अवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरू बताउँछन् । व्यवसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफूसँग लाखौँ मागेको निजगढ–९ की रञ्जिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ टिपर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसँग पैसा सापटी लिएकी थिइन् ।

यस्तै, गौतमले अन्य कयौँ महिलाहरूलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पीडितहरूको भनाइ छ । गौतामले छिमेकी तथा आफन्तसँग विभिन्न बहाना बनाएर लाखौँ रूपैयाँ सापटी लिएको बताइएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।

गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने बहानमा रकम सापट माग्ने गरेकी थिइन् । “छरछिमेकमा सरसापटी चलाउनुपर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित रञ्जिता कुमारी श्रेष्ठले भनिन् ।

जिल्ला प्रहरी कार्यालयमा बारामा गौतमविरूद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...