एमालेको प्रश्न– साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

36

काठमाडौँ, २४ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारको न्यूनतम साझा कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।

उक्त पार्टीका संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।

उनले भने, “सरकारले के गर्‍यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेस दिन सकेको छैन । संसद्लाई बेवास्ता गरिरहेको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइन ? यस विषयमा सरकार चुकेको छ ।”

सरकारले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै उपनेता नेम्वाङले २०६२÷६३ को आन्दोलनपछि जनताले जनताका लागि पूर्णअधिकार सम्पन्न तुल्याउन भइरहेको संसदीय अभ्यासलाई छलेर गरिने यस्ता कार्यले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने विचार प्रकट गरे ।

“सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्छ, हामी त्यो माग गर्छौँ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...