काठमाडौँ, २३ चैत । १६औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत कोलकाता नाइट राइडर्सले पहिलो जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेञ्जर्स बेंगलोरमाथि ८१ रनको फराकिलो जित निकालेको हो । बेंगलोर १७.४ ओभरमा १२३ रनमा समेटियो ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले उत्कृष्ट सुरूवात गरे पनि मध्यक्रममा ब्याटरहरूले उल्लेख्य रन बनाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो । पहिलो विकेटका लागि विराट कोहली र कप्तान फाफ डू प्लेसिसले ४.५ ओभरमा ४४ रनको साझेदारी गरे । आउट हुनअघि कोहलीले २१ तथा प्लेसिसले २३ रनको पारी खेले ।
यस्तै, डेविड विल्लीले नटआउट २०, माइकल ब्रासवेलले १९ तथा आकाश दीपले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । दिनेश कार्तिकले ९, ग्लेन म्याक्सवेलले ५ रन जोडे ।
यसअघि, इडेन गार्डेन कोलकातामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो ।
कोलकाताका लागि सर्वाधिक रन शार्दुल ठाकुरले जोडे । सातौँ नम्बरमा ब्याटिङमा आएका ठाकुरले २९ बल खेल्दै ३ छक्का र ९ चौकाको मद्धतमा ६८ रनको आक्रामक पारी खेले । यसैगरी, रहमनुल्लाह गुर्बाजले ५७ तथा रिन्कु सिंहले ४६ रन जोड्दा २३ रन अतिरिक्त पाएको थियो । कोलकाताका तीन जना ब्याटरले बाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् । उमेश यादवले ६, भेंकटेस आयरले ३, नितिश रानाले एक रन बनाउँदा मन्दीप सिंह, आन्द्रे रसेल शून्य रनमा आउट भए ।
बेंगलोरका डेविड विल्ली र कर्ण शर्माले समान २–२ विकेट लिए । मोहम्मद सिराज, माइकल ब्रासवेल, हर्शल पटेलले एक–एक विकेट लिए ।
जितसँगै कोलकाताले २ अंक जोडेको छ । समान २ खेल खेलेको गुजरात शतप्रतिशत जितसहित गुजारत टाइटन्स शीर्ष स्थानमा रहँदा पञ्जाब किङ्स दोस्रो तथा कोलकाता तेस्रो स्थानमा छ । राजस्थान रोयल्स चौँथो, लखनउ पाँचौँ, चेन्नइ छैटौँ, बेंगलोर सातौँ, दिल्ली आठौँ स्थानमा रहेका छन् । यसैगरी एक खेल खेलेको मुम्बइ र हैदराबाद क्रमश नवौँ र दशौँ स्थानमा छ ।