काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ सुनौलो बजार गाउँपालिका–७ घर भई ललितपुर चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई गोकर्ण नाम्गेल बस्ने २४ वर्षीय विकाश तामाङ, २८ वर्षीय साजन तामाङ, धनकुटा बेलारा घर भई काठमाडौँ भंगाल बस्ने ३२ वषीए दिपक दमाई र सिन्धुपाल्चोक बाह्रबिसे–५ घर भइ काठमाडौँ नयाँबस्ती बस्ने ३५ वर्षीय प्रेम बहादुर तामाङ छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार गोकर्णेश्वर अत्तरखेर र नाम्खेलबाट प्रकाउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।
उनीरहूले पीडितलाई पटक–पटक फोनमार्फत् सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने, १ र ५० दरका अमेरिकी डलर पीडितलाई प्रत्यक्ष देखाइ विश्वासमा पार्ने र सटही गर्ने बहानमा पैसा लिएर साँघुरा गल्ली, पातलो मानवबस्ती तथा जंगल आसपासको स्थानमा बोलाइ झुक्याएर डलर भनी नेपाली नोट, ५, १०, २० रूपैयाँ र नोट साइजको पेपर काटी रूमालमा पोको पारेर दिई पीडितसँग भएको लाखौँ रूपैयाँ लुटपाट गरी भाग्ने गरेको अनुसन्धानका क्रममा खुलेको कार्यालयका प्रवक्ता एसपी रेग्मीले बताए ।
ती व्यक्तिहरूले फरक–फरक मोबाइल नम्बरहरू प्रयोग गर्ने र लुटपाट गरिसकेपछि पहिले प्रयोग भएका मोबाइल नम्बरहरू पुनः प्रयोग नगर्ने गरेको पाइएको छ । डलर देखाइ लुटपाटमा संलग्नहरूको हुलियाको आधारमा प्रहरीले नियन्त्रणमा लिइ कारबाही थालेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूले उपत्यका र उपत्यका बाहिरसमेत गरी ६ स्थानबाट लुटपाट गरेको प्रारम्भिव अनुसन्धानमा खुलेको एसपी रेग्मीले बताए ।
उनीहरूविरूद्ध ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।