काठमाडौँ, २३ चैत । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताए । कहीँ पनि नअटेका कार्यकर्तालार्ई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए ।
उनले प्रदेशका नाममा पाँच वर्षमा करिब ६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौँलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए ।
उनले भने, “विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जबाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रूपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठुलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर, आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।”
प्रतिनिधिसभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जबाफ हालसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताए ।