काठमाडौँ, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत् उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका हुन् । वैशाख १० गते हुने उपनिर्वाचनमा धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार भएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताए ।
“वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदै छ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,” ओलीले भनेका छन्, “मैले गत आमनिर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ ।”
उनले गत मंसिरको आमचुनावका बेला आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका थिए । तर, सभापति देउवाले बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ ।