काठमाडौँ, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
छामिछानेविरूद्ध राहदानी दुरूपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता दीनमणि पोखरेल तथा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध युवराज पौडेलले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले जारी गरेको आदेशमा अमेरिकी नागरिकता त्यागेको निस्सा झिकाउन आदेश भएको हो ।
न्यायाधीश फुयालको इजलासले लामिछानेविरूद्ध राहदानी दुरूपयोग मुद्दा नचलाउनुको कारण पनि मागेको छ । फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा नचलाउनुको कारण मागेको हो । अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएका बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । निर्णय चैत ६ मा महान्यायाधिवक्ता पोखरेलले गरेका थिए ।
लामिछानेले २०५० साल फागुन मा वंशजका आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी लिई अमेरिका गएका थिए । अमेरिकाको स्थायी बसोबास अनुमति पाएका उनले अमेरिकी कानुनबामोजिम शपथ लिई २०७० फागुन ९ मा अमेरिकी नागरिकता पाएका थिए । अमेरिकी नागरिकका हैसियतमा नेपाल आएको बखत लामिछानेले पुरानै नागरिकताको प्रयोग गरी २०७२ जेठ १३ मा नेपालको राहदानी लिएका थिए । उनले २०७५ सालमा अमेरिकाको नागरिकता र राहदानी परित्याग गरेका थिए ।