काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणसँग सम्बन्धित रिट हेर्न नमिल्नेमा परेको छ ।
यो रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । उनले यो रिट हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन् ।
न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो । रिटको अर्को पेसी तोकिने छ ।
अधिवक्त युवराज पौडेल ‘सफल’ले सोमबार दायर गरेका रिट सिन्हाको बेन्चमा परेको थियो । यसअघि लामिछानेले निष्क्रिय भइसकेको नागरिकताका आधारमा राहदानी लिएको विषयमा महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्ध मुद्दा अघि नबढाउने निर्णय गरेको थियो ।
पौडेलले लामिछाने र महान्यायाधिवक्ता कार्यालयसहित ८ जनालाई प्रतिपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा निर्णय बदर गरी लामिछानेमाथि मुद्दा चलाउने उत्प्रेरणा आदेशको माग गरिएको छ ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएका थिए ।