धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

59

काठमाडौँ, २१ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवम् भातृत्व अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

जैन धर्मका प्रणेता भगवान् महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।”

अहिंसा, अपरिग्रह र अनेकान्तवादका प्रणेता भगवान् महावीरले प्रतिपाद गरेका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासंगिक एवम् समयसान्दर्भिक भएको उनले उल्लेख गरे ।

नेपालमा जैनधर्मालम्बीहरू सबै ठाउँमा विभिन्न समुदायकाबीचमा मिलेर बसोबास गरिरहेका र उनीहरू जहाँ रहे पनि भगवान् महावीरका सिद्धान्तहरू अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पुर्‍याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...