स्वर्णिम वाग्लेलाई गगनको प्रश्न– बाहिरबाट लात हानेर कांग्रेस बदलिन्छ ?

43

तनहुँ, २० चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई रूपान्तरण गर्न आफूहरूले पार्टीभित्रै संघर्ष गरिरहेको बताएका छन् । कांग्रेस छाडेर बाहिर गएर खराब भन्ने प्रवृत्तिप्रति उनले आक्रोश पोखे ।

तनहुँमा आज गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघिको सभामा बोल्दै महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताए ।

“नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्ने छ । तर, नेपाली कांग्रेसलाई लात हानेर गएर, बाहिरबाट कांग्रेस खराब भनेर, ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ । यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ । यो संघर्ष गर्ने हो,” केही दिनअघि कांग्रेस छाडेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने ।

विदेशमा पढेर आएको भन्ने वाग्लेको अभिव्यक्तिलाई पनि थापाले जबाफ दिए । उनले भने, “विदेशमा बसेर, यो गरेर आएको, मैले यतिको जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले जागिरै नखाको । तिमीले त खाएर, छोडेर आएको । घर बनाएको, पेन्सन पकाएको अनि आएको । मत त्यो बेलामा सडकमा लडेर बसेको । छातीमा ढुंगा खाएर बसेको ।”

महामन्त्री थापाले अगाडि भने, “विदेश जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन । तिमी गयौँ भन्नेमा मेरो प्रश्न होइन । तर, मलाई यहाँ बस्यौँ भन्नेमा प्रश्न गर्‍यौ भने तिमी किन गयौँ भन्ने पनि प्रश्न गर्छु । प्रश्न यो पनि सँगसँगै आउँछ ।”

उनले युवाहरूलाई आफू कांग्रेस रूपान्तरणका लागि संघर्ष गरिरहेको बताए । “देशैभरका तन्नेरीलाई आग्रह छ– हामी पनि सपना लिएर राजनीतिमा होमिएको हो । कांग्रेस बदल्न चाहेको हो । अहिले जे भइरहेको छ, सबै ठिक भइरहेको छैन । धेरै बदल्नुपर्ने छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...