काठमाडौँ, १७ चैत । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेस गर्ने निर्णय गरे ।
उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर, लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढीकरणका काम अघि बढाउनेछौँ ।”
मन्त्री राई गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट निर्वाचित भएका थिए । मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङबाट नेकपा (एमाले) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।