नेपाललाई थ्री नेसन्स कपको उपाधि

77

काठमाडौँ, १७ चैत । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाए पनि उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।

लाओसका फोन्साक सिसाभाथले अग्रता दिलाएका थिए । नेपालका आयुश घलानले बराबरी गोल फर्काए मनिस डाँगीले अन्त्यतिर गोल गर्दैै नेपाललाई उपाधि दिलाए ।

खेलको १७औँ मिनेटमा लाओसले अग्रता लियो । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि फोन्साकले सहजै गोल गरे ।

२४औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुस घलानले पेनाल्टी क्षेत्रभित्र सुन्दर फिनिस गरेपछि नेपाल खेलमा फर्कियो । एरिक विष्टको पासलाई आयुसले पेनाल्टी क्षेत्रभित्र अघि बढाउँदै गोल गरे ।

दोस्रो हाफको ५५औँ मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विङ्गबाट दिएको क्रसलाई दीपक र आयुसले ६ यार्ड बक्सभित्रबाट गोलको दिशा दिन सकेनन् ।

खेलको ८७औँ मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै उनले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओसले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...