१७ करोड मूल्यको कोकिनसहित दुई महिला पक्राउ

76

काठमाडौँ, १६ चैत । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ७ किलो ८ सय ग्राम लागुऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौँको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन् ।

बरामद भएको कोकिन अवैध बजार मूल्य १७ करोड ३ लाख ५१ हजार रहेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र ४ वटा लेडिज फल्सबटम बनाइ लागुऔषध लैजान लागेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनको बयानका आधारमा ठमेलस्थित एक होटलमा अनुसन्धान गर्दा ५ किलो कोकिनसहित लाह्लिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका भारतीय महिलाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...