माओवादी समाजवादीको कसैसँग एकता भएको छैन : कर्णजित बुढाथोकी

88

काठमाडौँ, १३ चैत । नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी ‘शुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन् । आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शुशीलले पार्टीमा कारबाही परेकाहरु अन्त प्रवेश गरेको विषयलाई लिएर सञ्चारमाध्यममा एकताको हल्ला चलाएको भन्दै आपत्ति समेत जनाए ।

केही दिन पहिले प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी र नेकपा (माओवादी समाजवादी)बीच एकता भएको भन्ने प्रचार हल्ला मात्रै भएको उनले बताए । उनले चैत्र ७ र ८ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले क्रान्तिकारी धारका पार्टीसँग एकता गर्ने निर्णय गरेको तर अहिलेसम्म कसैसँग एकता नभएको बताए ।

“हाम्रो पार्टीको कसैसँग एकता भएको छैन, लुकीछिपी केही व्यक्तिहरु अपमानित रुपमा अर्को पार्टीमा प्रवेश गरेको विषयलाई एकता भन्नु गलत हो । यो एकतावद्ध हुन लागेको माओवादी आन्दोलन र समाजवादी क्रान्तिविरुद्धको प्रचार हो । संघर्ष अगाडि बढ्ने थाहा पाएपछि केही पात्रहरु पार्टीबाट बारिएका हुन्” बुढाथोकीले भने ।

नेकपा एमालेतिर भएका पूर्वमाओवादी नेताहरुलाई फर्किन बुढाथोकीले सुझाव दिए । उनले जनयुद्धका उपलब्धीहरुको रक्षाका लागि सबै माओवादीहरुबीच नयाँ ढंगको एकता आवश्यक रहेको बताए ।

“एमालेमा गएका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पाँच सय नेता कार्यकर्ता एमालेमा गएका छन् । तपाईं हामीले दुःख गरेर जनयुद्ध लडेका थियौँ, त्यो के अपराध हो ? तपाईंहरुको सम्मान त्यहाँ हुँदैन भने विद्रोह गर्नुस्, नयाँ ढंगको सहकार्य गरौँ,” उनले भने ।

पोखरामा केही अराजक समूहले गरेको कार्यहरुलाई पार्टीसँग जोडेर प्रचार गरिएको भन्दै बुढाथोकीले खण्डन गरे । उनले नेपाली कांग्रेस, एमालेका स्थानीय कार्यकर्ताहरुको संलग्नता रहेका दाबी गरे ।

विप्लव नेतृत्वका नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको घोषणा गरिएको थियो । अहिले दुवै पार्टीले एकताको कामलाई अगाडि बढाएका छन् । तर, औपचारिक रुपमा एकता भएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...