प्रतिनिधिसभाको शून्य समयमा क–कसले के भने ?

59

काठमाडौँ, १२ चैत । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिंचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरूले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधनानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले)की विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दीका कारण नागरिकको दैनिक जीवन अत्यन्त संकटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । उनले भनिन्, “ठुलो संख्यामा युवा रोजगारीका लागि विदेशिएका छन्, अध्ययन र भ्रमणका लागि विदेश जानेको संख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ । महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ?”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठुलो संख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस् भनिन् ।

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिरहामा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेको सुकुमबासी समस्यामा परेकाले उनीहरूका लागि लक्षित गरी नापी सुरू गर्न, चर्को रूपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए ।

राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरूपमा सार्वजनिक यातायातका साधनको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए ।

एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् । रास्वपा शिव नेपालीले जनताको सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दै सांसदलाई केवल सरकार गठन र ढाल्ने मात्र प्रयोग नगरियोस् भने ।

नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । नेपाली कांग्रेसका सन्तोष चालिसेले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे ।

रास्वपाका सन्तोष परियारले देशमा आर्थिक संकटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए ।

सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तीर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जाओस् भने । कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले बर्खामा नेपालका कयौँ बस्ती र खेतीयोग्य जग्गा डुबानमा पर्ने भएकाले समयमै त्यो समास्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए ।

जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भए पनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनुवाइ गर्न ध्यानाकर्षण गराइन् । रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नम्बर ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समास्या समाधान गर्न माग गरिन् ।

कांग्रेसकी संगीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामूलक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् । माओवादीका हितराज पाण्डेले पछिल्लो समय क्यान्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

राप्रका ज्ञानेबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याइएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । माओवादीकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारूकता देखाउन सरकारसँग माग गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...