झापा, १० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तिमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरूट’ अभियान सञ्चालन गरेको बताएका छन् ।
झापामा सञ्चालन भइरहेको मिसन ग्रासरूट अभियानको आज आयोजित मध्यावति समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए ।
“आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरू गरिएको हो,” उनले भने, “तपाईंहरू ग्रासरूट अभियानमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईंहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।”
एमालेविरूद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उनको दाबी थियो । अभियानले आन्तरिक जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशकै सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उनले बताए ।
उनले कोसी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमाले कार्यकर्ताहरूले सम्झाउनुपर्ने बताए ।