जनगणनाबाट दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री प्रचण्ड [पूर्णपाठ]

53

काठमाडाैँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्यांकले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् ।

राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन आज सार्वजनिक गर्दै उनले जनगणनाबाट जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेको प्रतिवद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्यांकन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताए ।

“संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुने छ,”, उनले भने, “जनगणनाको तथ्यांकबाट १५औँ योजनाको समीक्षा तथा १६औँ योजना तर्जुमाको अवधारणा पत्र तयार गर्न आवश्यक आधारभूत तथ्यांकको आधार पनि प्राप्त हुने छ ।”

प्रधानमन्त्री प्रचण्डको मन्तव्यको पूर्णपाठ

सम्पूर्ण उपस्थित महानुभावहरु,
नेपालमा वि.सं. १९६८ बाट सुरु भई दश–दश वर्षमा सञ्चालन गरिँदै आएको राष्ट्रिय जनगणनाको बाह्रौँ श्रृङ्खला अन्तर्गत गत वर्षको कार्तिक–मंसिर महिनामा सम्पन्न भएको राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन आज सार्वजनिक गर्न पाउँदा मलाई खुसी लागेको छ ।

नेपालको सन्दर्भमा जनगणना देशकै आर्थिक(सामाजिकस्वरुपको यथार्थ स्थिति प्रस्तुत गर्ने एक महत्त्वपूर्ण तथा बृहत् तथ्यांकीय कार्य हो। यसले जनसाङ्ख्यिक, शैक्षिक, आर्थिक, मानवीय तथा विविध क्षेत्रका तथ्यांक यकिन गर्नुका साथै आगामी दश वर्षसम्मका लागि तथ्यांकको आधार समेत सिर्जना गरेको छ। यसबाट प्राप्त तथ्यांकले नेपालको संविधानमा रहेका समाजवाद उन्मुख समावेशी विकास र मौलिक हक अधिकारको कार्यान्वयन र मूल्यांक गर्न सहज हुनेछ।

जनगणनाको तथ्यांकबाट पन्ध्रौँ योजनाको समीक्षा तथा सोह्रौँ योजना तर्जुमाको अवधारणा पत्र तयार गर्नका लागि आवश्यक आधारभूत तथ्यांकको आधार पनि प्राप्त हुनेछ। राष्ट्रिय जनगणना २०७८ बाट उपलब्ध भएका तथ्यांकले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिबद्धता लगायत अन्य राष्ट्रिय विकास लक्ष्यहरुको अनुगमन तथा मूल्यांकन र विद्यमान सूचकहरुको प्रगति मापनमा सहयोग पुग्नेछ। संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहहरुलाई नीति, योजना तथा कार्यक्रमहरु तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधार समेत प्राप्त हुनेछ ।

प्राप्त नतिजा समग्रमा हेर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएकोले जनसंख्याको वृद्धि सन्तुलित नभएको देखिन्छ । समग्र जनसङ्ख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ। विशेषगरी हिमाली र पहाडी तथा ग्रामीण क्षेत्रमा जनसङ्ख्या वृद्धिदर द्रुतरुपमा घट्ने क्रममा रहेको देखिएको छ भने तराई तथा सहरी क्षेत्रहरुमा यो दर बढ्ने क्रममा देखिएको छ। त्यसैगरी २०६८ सालको जनगणनाको तुलनामा परिवारमा अनुपस्थित रही विदेशमा बस्ने व्यक्तिहरुको संख्या बढेको र त्यसमध्ये महिलाहरुको अनुपात बढेको देखिएको छ । हाल प्रष्ट रुपमा देखिएको जनसाङ्ख्यिक परिवर्तन बमोजिमका जनसङ्ख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्न जनगणनाबाट प्राप्त तथ्यांकबाट सहयोग पुग्ने विश्वास लिएको छु ।

सारांशमा, महिला परिवारमूली भएका परिवारहरु तथा परिवारमा उपलब्ध सञ्चारलगायत अन्य साधन सुविधा, सफा खानेपानी प्रयोग गर्ने, बिजुली प्रयोग गर्ने, खाना पकाउन आधुनिक इन्धन प्रयोग गर्ने, सौचालय सुविधा भएका परिवारहरुको अनुपात वृद्धि भएको छ । साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिव ७६ प्रतिशत पुगेको देखिएको छ । तर धेरैजसो सूचकहरुमा ग्रामिण र शहरी क्षेत्रकाबीच असमानता देखिएको छ, जसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराईलाई व्यवस्थित गर्नु पर्ने देखिएको छ ।

जनसङ्ख्या तथ्यांक नेपालको तथ्यांक प्रणालीको एक अभिन्न अंग हो । यो लगायत संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमितरुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी देखेको छु। तसर्थ तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालसालै जारी भएको तथ्यांक ऐन, २०७९ को कार्यान्वयनलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ।

कोभिड–१९ महामारीले भयावह रुप लिएको अवस्थामा रोकिएको यो जनगणना प्रस्तावित समयभन्दा पाँच महिना ढिलो गरी सम्पन्न हुन सक्यो । कोभिडको प्रभाव पूर्णतः समाप्त भई नसकेको अवस्थामा जनगणना सञ्चालन गर्नु एक चुनौतीपूर्ण कार्य थियो । तसर्थ राष्ट्रिय जनगणना, २०७८ सफलतापूर्वक सम्पन्न गरेकोमा म तत्कालीन केन्द्रीय तथ्यांक विभाग तथा हालको राष्ट्रिय तथ्यांक कार्यालयलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै मेहनत र लगनशीलताका साथ तथ्यांक संकलन गर्ने गणक तथा सुपरीवेक्षकहरु, जनगणनाको स्थलगत कार्य व्यवस्थापन गर्ने स्थानीय, जिल्ला तथा प्रदेश जनगणना अधिकारीहरु, जनगणनाको प्रचार प्रसार गर्ने सञ्चारकर्मीहरु, आर्थिक तथा प्राविधिक सहयोग गर्ने अन्तर्राष्ट्रिय विकास साझेदारहरु तथा यसमा सरोकार राख्नुहुने सबै महानुभावहरु र सम्पूर्ण उत्तरदाताहरुलाई म धन्यवाद दिन चाहन्छु ।

धन्यवाद

Share This:
सम्बन्धित खबर
Loading...