राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

24

एजेन्सी, ९ चैत । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको छ ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धी तत्काल जेल जानु पर्दैन किनकि उनलाई उक्त पैसलाविरूद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको छ ।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्षित गर्दै त्यो भनेका थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजारत राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरूद्ध मुद्दा दायर गरेका थिए ।

अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुगेका थिए । “मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,” अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले लेखेका छन् ।

फैसला सुन्न बुधकार पुगेका नेता गान्धीलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘भाजपाको तानाशाही अगाडि कांग्रेस नझुक्ने’, ‘राहुल गान्धी हिन्दुस्तानको सिंह हुनुहुन्छ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले नेता गान्धीको समर्थन गर्दै न्यायालयको निर्णयप्रति असहमति जनाएका छन् । “गैरभाजपा नेता तथा पार्टीलाई मुद्दा लगाएर हटाउने षड्यन्त्र रचिएको छ ।”

“कांग्रेससँग हाम्रा मतभेद छ तर राहुल गान्धीलाई मानहानीको मुद्दामा फसाउनु ठिक होइन । हामी अदालतको समर्थन गर्छौँ तर यो निर्णयमा हामी असहमत छौँ,” जनता र विपक्षी दलले प्रश्न गर्न पाउनुपर्ने तर्क गर्दै मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...