सशक्त बन्दै ‘कोसी’ नामाकरणविरूद्धको आन्दोलन

132

काठमाडौँ, ९ चैत । ‘कोसी’ प्रदेशको पुनः नामाकरणको आन्दोलन झनै चर्किने भएको छ । ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले आफ्नो आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

२०७९ फागुन १७ गते प्रदेश नम्बर १ को बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विधिधतायुक्त इतिहास र साझा पहिचानलाई नामेट पार्दै षड्यन्त्रपूर्वक छलकपटपूर्ण एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोसी’ प्रदेश नाम प्रदेशसभाले नामाकरण गरेकोमा उक्त प्रदेश नाम कोसी खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामांकन गराउन दबाब दिने उद्देश्यले प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विभिन्न चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, आदिवासी जनजाति महासंघलगायत सामाजिक तथा सामुदायिक संगठनहरू संयुक्त संघर्ष समितिले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

चरणबद्ध आन्दोलनअन्तर्गत गाउँ सहर जागरण मार्च अभियान (प्रशिक्षण, प्रतिरोध संरचना निर्माण, संघर्ष समितिको पूर्णता) (१० चैतमा ताप्लेजुङ, ११ चैतमा पाँचथर, १३ चैतमा झापा, १४ र १५ चैतमा सुनसरी), प्रदेशका सबै १४ जिल्लामा सभा, काठमाडौँमा मोटरसाइक जुलुससहित सभाको कार्यक्रम रहेको जनाइएको छ ।

संघर्ष समितिका अनुसार सरकारी निकायहरूमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोसी बोर्ड लेखनमा रोक, लेखिएकाहरू हटाउने/मेटाउने, कोसी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने, प्रदेशको नाम कोसीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिस्कार, प्रदेशको नाम कोसी खारेजीसम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम पनि समितिले घोषणा गरेको छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...