‘बेटिङ एप्लिकेसन’मार्फत् सट्टेबाजी गराउने ६ जना पक्राउ

107

काठमाडौँ, ९ चैत । ‘वान एक्स बेट’बाट सट्टेबाजी गराउने ६ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लोकन्थली, बानेश्वर, पेप्सीकोलालगायत स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–६ खलंगा घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय दिलिप कठायत, चन्दननाथ–१० गैरीगाउँ घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय भुपाल राज न्यौपाने, चन्दननाथ–५ तलिवाडा घर भई भक्तपुर गठ्ठाघर बस्ने १९ वर्षीय नयन राज भण्डारी रहेका छन् ।

यस्तै, सर्लाही बलरा नगरापालिका–५ घर भई काठमाडौँ–३२ बस्ने वरूण कुमार सिंह, काठमाडौँ–३२ का बासुदेव पाण्डे र काभ्रेपलाञ्चोक मादनकुडारी गाउँपालिका–१ घर भइ बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेको व्यक्तिहरूमध्ये दिलिप सिंह कठायत विगत एक वर्षदेखि, भुपाल राज न्यौपाने ९ महिना, नयनराज भण्डारी र वरूण विगत ६ महिनादेखि तथा शिवानी तामाङ ८ महिना र बासुदेव विगत १ महिनादेखि वान एक्स बेटमा सट्टेबाजी गर्ने एजेन्टको रूपमा काम गर्न थालेको खुल्न आएको छ । उनीहरूले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका ३३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

प्रारम्भिक विवरणमा उनीहरूले विभिन्न समयमा सट्टेबाजी खेलाएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले रकम संकलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरूको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ ।

उनीहरूमध्ये दिलिप, भुपालराज र नयनराजको नाममा रहेको ८ वटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पोरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने भएको पाइएको छ ।

प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरूले अन्य ३५ जना व्यक्तिको नाममा डिजिटल वालेट खाता खोली ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख कारोबार गरेको पनि फेला परेको छ । पक्राउ परेकाहरूको खाताबाट भने ८ करोड ८ लाख कारोबार भएको पाइएको छ ।

उनीहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँले अनुसन्धान थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...