काठमाडौँ, ८ चैत । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिन लागिएको जानकारी दिए ।
मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले नाराबाजी गरेका थिए । पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङका सोम शर्मा छन् ।
प्रहरीसँगको बयानमा उनीहरूले आफू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् ।