नेपालको टेस्ट खेल्ने सम्भावना छ : प्रशिक्षक देशाई

172

काठमाडौँ, ८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले सहयोग गरे आगामी ४ वर्षमा नेपालले पनि टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको बताएका छन् ।

भारतीय प्रशिक्षक देशाईले एक चर्चित क्रिकेट पोर्टल (क्रिकबज डट कम) मा सो किसिमको धारणा राखेका हुन् । गत माघ २३ गते मात्र उनी नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको आगमनसँगै एक महिनाभित्र नेपाली क्रिकेटले उत्कृष्ट नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ । मोन्टीले आफ्नो प्रशिक्षणमा विश्वकप क्रिकेट लिग–२ को १२ खेलबाट ११ जित दिलाएपछि एकदिवसीय मान्यता जोगाएको नेपालले सात टोली सम्मिलित लिगको शीर्ष तीनभित्र स्थान बनाउँदै छनोट यात्रा तय गरेको हो ।

उनै देशाईले नेपालले पनि आगामी ४ वर्षभित्र आफूलाई टेस्ट राष्ट्रका रूपमा उभ्याउन सक्ने उल्लेख गरेका हुन् । देशाईले नेपाली टिमलाई भारतमा रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । देशाईले यसबारे बिसिसिआईका सचिव तथा एसिसिका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् । “मैले आइसिसी र जय भाइ (बिसिसिआई सचिव तथा एसिसिका अध्यक्ष जय शाह)लाई यसबारे भनेको छु । जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी ४ वर्षमा टेस्ट खेल्ने राष्ट्र हुनेछौँ,” देशाईले आइसिसी र बिसिसिआईको ध्यानाकर्षण गराउँदै भनेका छन् ।

उनले नेपालसँगै क्रिकेट सुरूवात गरेको अफगानिस्तानसहित अधिकांश छिमेकी राष्ट्र पूर्ण टेस्ट टोली भइसकेको उल्लेख गरेका छन् ।

“यदि तपाईले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानले सँगै खेल्न सुरू गरेका थिए,” उनले भने ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि अन्तर्राष्ट्रिय मापदण्ड मिल्ने खालको नेपालमा एउटामात्र स्टेडियम भए पनि आफ्नो देशमा क्रिकेट निकै लोकप्रिय रहेको उल्लेख गरेका छन् । क्यानका अध्यक्ष चन्द पनि नेपालको क्रिकेटलाई सहयोग गर्न बिसिसिआईलाई आग्रह गरेको बताउँछन् । “हामीले आइसिसी र एसिसीलाई सहयोग गर्न पत्राचार गरेका छौँ । हामीले ठुलो राष्ट्रको सहयोग पनि छैन । उनीहरूले आर्थिक र प्राविधिक पक्षमा सहयोग गरे हाम्रो क्रिकेट अगाडि बढ्न सक्छ,” उनले भने, “ओमान, युएई र नामिबिया राम्रो टोली हुन् । तर, त्यहाँ क्रिकेटको कल्चर छैन, न त उनीहरूको समर्थक नै छन् । हामी अमेरिकामा क्रिकेट खेल्न जाँदा ५००–६०० सय नेपाली समर्थक आए । जबकि त्यहाँ अमेरिकी समर्थक एक मात्र थिए ।”

सन् २०१९ देखि सुरू भएको लिग–२ करिब साढे ३ वर्ष चल्यो । जहाँ हरेक टोलीले ३६ खेल खेलेका थिए । नेपालले गत हप्ता मात्र ३६ खेल पूरा गर्दा अंक तालिकाको तेस्रो स्थानमा रहँदै आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा स्थान बनाएको हो । यो छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्ससहित केही टेस्ट राष्ट्रसँग पनि खेल्न पाउने छ । टेष्ट राष्ट्रसहित १३ टोली सम्मिलित सुपर लिगको पुछारमा रहने पाँच राष्ट्रसँग नेपालले छनोट खेल्न पाउने छ ।

Share This:
सम्बन्धित खबर
Loading...