कर्मचारीभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात गरेको छु : मन्त्री मोदी

63

काठमाडौँ, ७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘हिजो पहुँच हुनेहरुले मात्रै अवसर लिने गरेका थिए, सीमित मान्छेहरु मात्रै अवसर लिने र सुगम ठाउँ, काठमाडौँ वरिपरी मात्रै रहने परम्परा थियो’ मन्त्री मोदीले भने, ‘मैले यसको अन्त्यको सुरुवात गरेको छु, यसको सुरुवात भएसँगै उनीहरु अतालिएका छन् ।’

मन्त्री मोदीले हिजोका दिनमा मन्त्रीलाई समेत घुमाइदिन्छु भन्दै रजाइदजाई गरेर बसेकाहरु अतालिएर अनर्गल प्रचारमा लागेको समेत बताए । ‘हिजोसम्म खाइँपाइ, रजाइदजाइ गरेर मन्त्रीलाई समेत घुमाउन सक्छु भन्ने सोच भएकाहरु अहिले अतालिएका छन् । उनीहरुले अहिले अनर्गल प्रचारहरु सुरु गरेका छन्’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले देश र जनताको सेवाका लागि खटाएको ठाउँमा कर्मचारी जानुपर्ने समेत बताए । ‘तपाईंहरुलाई थाहै होला, हाम्रो मन्त्रालयभित्र वर्षौँसम्म बसिरहने एउटा बेथिति थियो । कर्मचारीहरु जरा गाडेर बसेका थिए’ उनले भने, ‘हामीले अहिले जरा गाडेर बसेका र जगेडामा भएकाहरुलाई पनि खोजीखोजी दरबन्दी भएको ठाउँमा पठाउन थालेका छौँ ।’

मन्त्री मोदीले सुधारको कार्यक्रम गर्दा र सुशासन कायम गर्न खोज्दा आउने सबैखाले जोखिम मोल्न तयार रहेको समेत उल्लेख गरे । उनले कहिलेकाहीँ त्रुटि हुन सक्ने भए पनि अपराध भने हुन नसक्ने समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...