गोरखा ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरू भएको बताएका छन् । गोराखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडह स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँग सरकारलाई पूर्णता दिन छलफल सुरू भइसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । “हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ,” उनले भने, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ ।”
उनले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए । “सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ,” उनले भने, “जनताका विकास, निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृतरूपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ ।”
उनले तीनै तहको सरकारमार्फत् देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको मोडालिटी पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए ।