काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताएका छन् । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उनले स्पष्ट पारे ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जबाफमा उनले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले जटिल र अप्ठ्यारो परिस्थितिमा राज्यबाट उत्पीडित वर्ग, समुदाय र तप्कालाई अधिकार सम्पन्न बनाउन योगदान गरेका राजनीतिक दल र नयाँ राजनीतिक दलको योगदान र पुराना अनुभव तथा नयाँको काम गर्ने तरिकाबीच तालमेल गरेर जान जरूरी रहेको बताए ।
आफूहरू एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा आएको, राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट संघीयतामा आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक शान्ति सम्झौता, संविधान, गणतन्त्रका साथसाथै लोकतन्त्रमा नयाँ खालको अभ्यास गरिएको स्पष्ट पारे ।
विकास र समृद्धिका लागि आफूले तत्कालीन एमालेसँग एकता तथा सहकार्यको प्रस्ताव राखेको भए पनि त्यसलाई जोगाउन नसकिएको र तीन वर्ष पनि टिकाउन नसकेको प्रधानमन्त्रीले स्मरण गरे ।
जनता र कार्यकर्ताले आफूहरूबीचको सहकार्य र एकतालाई अनुमोदन गरेको भए पनि हामी नेताहरूकै कारण जोगाउन नसकेको उनले बताए । “हामी नेताहरूले नै जनता र कार्यकर्ताको भावनालाई सम्मान गर्न सकेनौँ । झन्डै दुई तिहाइ बराबरको जनमत टिकाउन सकेनौँ । यसको समीक्षा कसरी र कसले गर्ने हो ?,” उनले भने, “एकले अर्कोलाई दोषारोपण गरेर, तर्क कुतर्क गरेर सुख पाइँदैन । केन्द्र र प्रदेश सरकार किन गयो ? यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ?”
आफू एमालेसँग खोज्दै प्रधानमन्त्री बन्न नगएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मैले केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई एकपटक बनाउनुभयो । मलाई प्रधानमन्त्रीभन्दा पनि लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया महत्वपूर्ण लाग्छ ।”
प्रधानमन्त्री प्रचण्डले एमालेसँग एजेन्डा नै नमिलेका कारण गठबन्धन परिवर्तन गर्नुपरेको बताए ।