नेपाल विश्वकप छनोटमा

166

काठमाडौँ, २ चैत । घरेलु मैदानमा युएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ ।

बिहीबार भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई डर्कवर्थ लेविस पद्धतिको आधारमा हराउँदै नेपालले तालिकाको शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाएको हो । योसँगै नेपालले आगामी जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैँ स्थान बनाएको छ ।

जितका लागि ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा खेल रोकिएको थियो । खराब प्रकाशका कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल ९ रनले विजयी भएको हो ।

नेपालको जितमा गुलशन झाले ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । यस्तै, भीम सार्कीले ६७, आरिफ शेखले ५२ तथा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले १६ रनको पारी खेल्दा कुशल मल्ल ५ रनमा आउट भए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको थियो ।

छैटौँ विकेटका लागि आशिफ खान र आरबिन्दले १३५ रनको साझेदारी गरका थिए । युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे । मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा रन बनाउँदै नटआउट रहे । यस्तै, अरबिन्दले ९४ रन बनाएर आउट भए ।

ओपनर आयान लाक्रा ६ रनमा आउट भए । कप्तान मोहम्मद वसिम ६३ रनमा आउट भए । ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेको उनलाई सन्दीप लामिछानेले आउट गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...