पैदलयात्री सचेतता अभियान : ६३७ जना पैदलयात्रीलाई ट्राफिक प्रहरीद्वारा सम्झाइबुझाइ

41

काठमाडाैँ, १ चैत । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ ।

जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्डनै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर अभियानको सुरुवात गरेको हो ।

दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ ।

सम्झाइबुझाइका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो ।

यस्तै, ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकहरूलाई पनि सम्झाइबुझाइ गरेको छ । काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुंगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।

काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हाल सम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीहरुमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमी ल्याउन मद्धत पुग्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

यसअघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्न र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोधसमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...