उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

111

काठमाडौँ, १ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ । मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ ।

उपराष्ट्रपतिका लागि नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् ।

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने भन्दै प्रमिला यादवले भने आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । तर, उनले उम्मेदवारी फिर्ता लिने निर्धारण समयभित्र फिर्ता नलिएको कारण उनको नाम र तस्बिर पनि मतपत्रमा राखिएको हो ।

रामसहायलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत पाँच दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।

शाक्यलाई एमालेको मात्रै समर्थन छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ । निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदान रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...