काठमाडौँ, २९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताएकी छन् ।
विकृति र विसंगतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताइन् । नारी अनलाइन पत्रिकाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताइन् ।
विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उनले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रुपमा लिनुपर्ने बताइन् । पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुको विकल्प नरहेको उनले बताइन् ।
समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहेकी मन्त्री शर्माले भनिन्, ‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलाहरुमा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’
विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उनले थपिन्, ‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरुको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’
अर्को एक प्रसंगमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत् अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिइन् । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरुको समिति बनाएर काम थालिएको पनि उनले जानकारी दिइन् । नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उनले सबैलाई आग्रह गरिन् ।