पिएनजीमाथि नेपालको सानदार जित, विश्वकप छनोट खेल्ने सम्भावना कायमै

222

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई ५२ रनले हराएको छ । जितसँगै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

२९८ रनको लक्ष्य पछ्याएको पिएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उरा र नोर्मान भानुआले अर्धशतक बनाए । भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए ।

पिएनजीले नेपालविरूद्ध उत्कृष्ट सुरूवात गरेको थियो । पहिलो विकेटका लागि उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए । डोरिगाले एक रन लिनेक्रममा दीपेन्द्रसिंह ऐरीको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रनआउट भएका थिए । त्यसपछि भने नेपालले खेलमा पुनरागमन गरेको थियो ।

कप्तान असाद भालाले ४२ रन बनाउँदा डोरिगाले २६ रन बनाए । यस्तै, राइली हेकुरेले २०,चार्ल्स अमिनीले १४ तथा हिरी हिरीले ८ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । लामिछानेले १० आभेरमा एक मेडन राख्दै ३७ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो । सो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको अहिलेसम्मकै उच्च योगफल थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले शतक प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो शतक प्रहार गर्ने क्रममा उनले ११० बल खेल्दै २ छक्का र १२ चौकाको मद्धतमा ११० रन बनाए । आसिफ नेपालबाट एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने । यसअघि, पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

खेलमा नेपालले उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्‍यो । नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो । ५६ बल खेलेका भुर्तेल ४५ रनमा आउट भए ।

यस्तै, भीम सार्कीले ४४ रन जोड्दा कप्तान रोहित पौडेल ३० रनमा आउट भए । आरिफ शेखले १५, ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८ तथा सन्दीप लामिछाने ७ रन बनाए ।

बलिङतर्फ पिएनजीका सेमो कामियाले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन खर्चिए । यस्तै, राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

नेपाल, युएई र पिएनजीबीचको यो श्रृंखला आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम सिरिज हो । सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्ने छ ।

नेपालले शीर्ष तीनमा रहँदै आगामी जुन/जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीन खेलन नै जित्नुपर्ने छ । एक खेल हारेको अवस्थामा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । एकदिवसीय मान्यता जोगाउन नेपालले अब तीनमध्ये एक खेल जित्नुपर्ने हुन्छ ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेको छ ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ ।

३३ खेलबाट ३४ अंक जोडेर नेपाल पाँचौँ स्थानमा छ भने युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ ।

Share This:
सम्बन्धित खबर
Loading...