किन सञ्चालनमा आएन चौरजहारी विमानस्थल ?

61

जाजरकोट, २३ फागुन । रूकुम पश्चिम, जाजरकोट र सल्यान्लाई समेत लक्षित गरेर सञ्चालनमा रहेको रूकुम पश्चिमको चौरजहारी विमानस्थल लामो समयदेखि बन्द हुँदा यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आएको छ ।

विमानस्थल सञ्चालनका लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो ।

९ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दसैँतिहारमा सञ्चालन गरिने आशा गरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दसैँतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरू नगरिएको स्थानीयको गुनासो छ ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनदेखि सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म ५ करोड ५९ लाख ४९ हजार ९५२ रूपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो ।

विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छ्रैनन् ।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लैजान समस्या हुँदै आएको छ । भेरी करिडोरको बीचमा पर्ने यो विमानस्थल सञ्चालनमा आए सबैभन्दा बढी बिरामीहरूले लाभ उठाउने अपेक्षा लिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...