नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

110

काठमाडौँ, २२ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टाेली युएईलाई २३० रनको विजयी लक्ष्य दिएको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

खराब सुरूवात गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । सार्कीले सन्दीप लामिछाने र आरिफ शेखसँग छैटौँ र सातौँ विकेटका लागि समान ५६ रनको साझेदारी गरे । करियरकै उच्च प्रदर्शन गरेका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन जोडे ।

आजको खेलमा पनि ओपनर चल्न सकेन । नियमित ओपनर कुशल भुर्तेल घाइते भएपछि उनको स्थानमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले ११ तथा आसिफ शेखले ६ रन बनाए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्लले आक्रमक खेल्ने प्रयास गरे पनि ३२ रनमा रोहन मुस्ताफाको बलमा बोल्ड आउट भए ।

यस्तै, कप्तान रोहित पौडेल १ रन तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले ६८ रन मात्र बनाउन सकेको थियो । त्यसपछि सतौँ नम्बरमा आएका लामिछानेले सार्कीसँग ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको स्कोर १२४ सम्म पुर्‍याए ।

करण केसीले ११ बलमा १७ रन जोड्दा आरिफ शेख ४३ र प्रतिश जिसी ११ रनमा नटआउट रहे ।

युएईका जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्ताफ र आर्यन लक्राले समान २–२ विकेट लिए ।

२३० रनको लक्ष्य पाएको युएईले केहीबेरमा जबाफी ब्याटिङ गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...