सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

117

धनगढी, १९ फागुन । यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै छन् ।

प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा फागुन २१ गते अपरान्ह १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको उल्लेख छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री शाहले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदा दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवम् छलफललाई तीव्रता दिइरहेका छन् ।

केन्द्रमा बनेको दलको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

दलको नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखवबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको मुख्यमन्त्री सचिवालयले दाबी गरेको छ ।

संविधानको धारा १६८ (३) बमोजिम गएको माघ २६ गते कांग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अन्य दलमा नेकपा (एमाले)का १०, राष्ट्रिय प्रजातन्त्रका एक र स्वतन्त्र एक सदस्य रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...