महानगर प्रहरी प्रमुख पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

55

काठमाडौँ, १९ फागुन । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दुई जनालाई बिहीबार पक्राउ गरेको प्रवक्ता एवम् एसपी सीताराम रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा नारायण परिश्रमी र हुकुमबहादुर लामा रहेका छन् । प्रहरीले परिश्रमीलाई सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो ।

गत मंसिर १२ गते थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन जाँदा पाण्डेलगायत महानगर प्रहरीमाथि आक्रमण भएको थियो । पाण्डेको टाउकोमा चोट लागेको थियो भने अन्य प्रहरी पनि घाइते भएका थिए ।

थापाथलीको उक्त घटनापछि महानगरपालिकाले परिसरमा जाहेरी दिएको थियो । अहिले उनीहरूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...