लागु औषधसहित ८ जना पक्राउ

69

काठमाडौँ, १९ फागुन । देशका विभिन्‍न स्थानबाट लागु औषधसहित आठ जना पक्राउ परेका छन् । झापाको  झापा मेचीनगर नगरपालिका–६ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–९ झण्डहवाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारस्थित नेपाल भारत सिमानाकाबाट अवैध लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका–६ दुम्ली बस्ने ३५ वर्षीय उमेशसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ तिनकुने चोकबाट अवैध लागुऔषध गाँजा करिब १२ किलोसहित सोही उपमहानगरपालिका–२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको  मनहरी गाउँपालिका–६ खैरधारीबाट अवैध लागु औषध अफिम १ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय  नरमान घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...