बालकको हत्या आरोपमा दम्पती पक्राउ

35

विराटनगर, १९ फागुन । मोरङको सुनवर्सी नगरपालिका–१ मा बालकको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनवर्सी नगरपालिका–१ का डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय वीरेन्द्र पास्वान र उनका ३४ वर्षीया श्रीमती डल्ली पासवानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फागुन ११ गते बेलुकादेखि बालक बेपत्ता भएका थिए । घरबाट खेल्न हिँडेका विशाल घर नफर्किएपछि खाजी गर्ने क्रममा बुधबार उनको शव घर नजिकै पोखरीको डिलमा गाडेको अवस्थामा फेला परेको थियो ।

बालकको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले बताए । पारिवारिक रिसइबीका कारण हत्या गरेको देखिएको डिएसपी कार्कीले बताए ।

बालक बेपत्ता भएपछि खोजी गरिरहेका प्रहरीले स्थानीयले पोखरीको डिलमा शंकास्पद खाल्डो देखिएको खबर गरेपछि उत्खनन गरेको थियो ।

पक्राउ परेका उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...