राष्ट्रसेवकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री मोदी

58

ललितपुर, १८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

राष्ट्रसेवक कर्मचारीलाई सवल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारतलगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउनेगरी उनीहरुको क्षमता विकास गर्नुपर्छ, उनीहरुलाई कसरी सवल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरी ठानेर काम गर्ने प्रवृत्तिको विकास र क्षमता निर्माणतिर तपाईंहरुको ध्यान जाओस् ।”

स्टाफ कलेजलाई नमुनाको रुपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाइ थियो । “स्टाफ कलेजलाई नमुनाको रुपमा विकास गर्न मैले के भूमिका खेल्नुपर्ने हो खेल्न तयार छु,” मन्त्री मोदीले भने ।

सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरुलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताए ।

छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाइ थियो ।

पदमा रहुन्जेलसम्म वर्तमानप्रति उत्तरदायी रहेर काम गर्न निर्देशन दिँदै मन्त्री मोदीले भने, “विज्ञता भएकाहरुले राजनीति गर्ने होइन, राजनीति गर्ने राजनीतिक व्यक्तिले हो ।”

आफूहरुले उन्नत र विशिष्ट प्रकृतिको काम गर्न नसके अरु कसैले गर्न नसक्ने उनको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि उन्नत कामका लागि युवाहरुलाई मन्त्रिपरिषद्‍मा सहभागी गराएको भन्दै उनले भने, “प्रधानमन्त्रीज्यू, देश र जनताका पक्षमा उदाहरणीय काम गर्ने पक्षमा हुनुहुन्छ, उहाँले केही न केही गर्ने सोचले नै युवाहरुलाई मन्त्रिपरिषद्‍मा युवाहरुलाई सहभागी गराउनुभएको छ, हामी केही न केही गर्छौँ, हामीले गर्न नसके अरुले गर्न सक्ने अवस्था अब आउनेवाला छैन ।”

मन्त्री मोदीले स्टाफ कलेजमा जारी नयाँ शाखा अधिकृतहरुको प्रशिक्षण कक्षाको अवलोकन पनि गरेका थिए ।

छलफलका क्रममा उप कार्यकारी निर्देशक विष्णुप्रसाद लम्सालले स्टाफ कलेजका सन्दर्भमा बिफ्रिङ गरेका थिए । कार्यकारी निर्देशक राजन खनालले मन्त्री मोदीको निर्देशनलाई अक्षरसः पालना गरेर अगाडि बढ्ने बताए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन अनुसार प्रशिक्षण प्रतिष्ठान २०३९ सालमा स्थापना भएको हो । । ७२ रोपनी क्षेत्रफलमा बनेको प्रतिष्ठानमा १२० जना प्रशिक्षार्थीलाई राख्न सक्ने आवासीय भवनसमेत छ ।

Share This:
सम्बन्धित खबर
Loading...