बुद्ध एयरले फागुन २५ देखि पोखरा–भद्रपुर उडान भर्ने

57

पोखरा, १७ फागुन । बुद्ध एयरले आगामी मार्च ९ अर्थात् २५ फागुनदेखि पोखरा–भद्रपुर सिधा हवाई उडान भर्ने भएको छ । काठमाडौँ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एयरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्ने भएको हो ।

पोखराका स्टेसन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान भर्ने गरी तयारी गरिएको हो । सो हवाई उडान दुरी १ घन्टा १० मिनेटको हुने छ ।

पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडेर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने म्यानेजर बरालको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेकोप्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे ।

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरूले छिटो र आरामदायी यात्रामा रूची राख्ने हुँदा जति एयर कनेक्टिभिटी पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवर्द्धन हुने उनको भनाइ थियो ।

पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको संख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घन्टा बिताउनका साथै २ हजार ४०० देखि २ हजार ७०० सम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि ९ हजार ६८५ पर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...