खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा

109

खाँदबारी, १६ फागुन । सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथांका–विराटनगर कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ ।

ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोसी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए । सम्झौताअनुसार अब यो सडकखण्ड ११ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्छ ।

विसं २०७८ को असार १७ गते उत्तर–दक्षिण कोसी सडक योजनाले ठेक्का सम्झौता गरेको खाँदबारी–थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्र गर्ने काम १७ प्रतिशत मात्रै भएको छ । थामसेर्कु–कप्ताने १२ किमी सडकमा १५ प्रतिशत र कप्ताने–नुम सडकको १३ किमी सडकमा पनि १७ प्रतिशत मात्रै काम भएको छ । खाँदबारीबाट चीनको सीमावर्ती किमाथांकासम्म सडकको लम्बाइ १६२ किलोमिटर छ ।

उत्तर–दक्षिण कोसी योजनाले ट्रयाक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । कालोपत्र गर्ने काममा ढिलाइ हुनुमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र वर्षाको बेला काम गर्न नसकेको बहाना बनाइएको छ ।

एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले विभिन्न बहाना बनाएर काम नगर्दा स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काम मात्रै गरेको छ । यो सडकखण्ड ठेकेदार कम्पनीले विसं २०८० पुस १३ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...