काठमाडौँ, १५ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालको निरीक्षण तथा अवलोकन गरेका छन् । सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवाप्रवाह, सरसफाइको अवस्थाबारे अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा मन्त्री मोदीले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गर्न निर्देशन दिए । मुख्यगरी अस्पतालले आकस्मिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने मन्त्री मोदीको भनाइ थियो ।
“यहाँको सुधार गर्नैपर्ने पक्ष भनेको आकस्मिक सेवाप्रवाह हो, आकस्मिक सेवा प्रवाहको सन्दर्भमा धेरै गुनासाहरु छन्,” मन्त्री मोदीले भने, “आकस्मिक सेवा प्रवाहको सन्दर्भमा उल्लेख्य सुधार गर्न आवश्यक छ, त्यतातिर तपाईंहरुको ध्यान जाओस् ।”
मन्त्री मोदीले चिकित्सक र नर्सहरुको व्यवहार र बोलीले पनि बिरामीहरुको मनोबल वृद्धि हुने भएकाले सेवाग्राहीसँग राम्रो व्यवहार गर्नसमेत निर्देशन दिए ।
सेवाग्राहीसँग चमेना गृहमा सँगै खाना खाएका मन्त्री मोदीले चमेना गृहको सरसफाइमा ध्यान दिन पनि विशेष निर्देशन दिए । “यहाँको चमेना गृह, चर्पी र अस्पताल परिसरको सरसफाइमा पनि विशेष रुपले ध्यानदिनुहोला,” उनले भने ।
निरीक्षणको क्रममा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरुले अस्पतालको नीतिगत, प्रशासनिक र संस्थागत सुधारका सम्बन्धमा समस्याहरु राखेका थिए ।
मन्त्रीमोदीले नेता, सांसद, मन्त्री र अन्य सर्वसाधारणलाई समान व्यवहार गर्न पनि निर्देशन दिए । मन्त्री मोदीले अस्पतालका विकृति र विसंगति हटाउनका लागि आफूले उचित पहलकदमी लिने समेत बताए ।