काठमाडौँ, १५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्युगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।
युनाइटेड अरब इमिरेट् (युएइ) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए । यस्तै, आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए ।
बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।
बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए ।
जितसँगै नेपाल २९ खेलमा २८ अंक जोड्दै लिगको छैटौँ स्थानमा छ ।