सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ जारी

42

काठमाडौँ, १४ फागुन ।  क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको छ ।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध लामिछानेले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय मल्ल र चुडालको इजलासमा सुरु भएको हो ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै लामिछानेको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो ।

यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । लामिछाने र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...