काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।”
सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, “संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।”
अन्तरक्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।