सङ्खुवासभामा प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सुरू

89

खाँदबारी, १३ फागुन । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश नम्बर १ स्तरीय बौद्ध सम्मेलन आजदेखि सुरू भएको छ । प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन सुरू भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समितको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन एक सय पाँच वर्षीय बौद्ध धर्मगुरु मानवीर पैजो (दारी लामा)को प्रमुख आतिथ्यतामा भएको छ ।

सम्मेलनको उद्घाटनको पहिलो दिन सबै जातजातिको झाँकी, र्‍यालीसहितको सबै जातजातिको कला–संस्कृति प्रदर्शन गरिएको छ । सङ्खुवासभामा बौद्ध दर्शनका बारेमा अनुसन्धान केन्द्र खोल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका प्रोफेसर, विज्ञ, प्राध्यापक, डाक्टर, बौद्धभिक्षु र त्यसका अनुयायी सहभागी छन् । दोस्रो दिन विज्ञका कार्यपत्र प्रस्तुत, भिक्षुको प्रवचन, बौद्ध दर्शनका बारेमा छलफल र अन्तरक्रिया हुनेछ । तेस्रो दिन कार्यपत्र र कार्यक्रमको निष्कर्ष रहने बताइएको छ ।

सम्मेलनको दोस्रो दिन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा १५ बौद्ध विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त कार्यपत्रमाथि सोही दिन छलफल हुनेछ । सङ्खुवासभामा प्रदेशस्तरीय अनुसन्धान केन्द्र तथा बौद्ध सङ्ग्रहालय स्थापना भए जिल्लालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक अध्ययन केन्द्रका रूपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको विज्ञ डा.मात्रिका तिम्सिनाले बताए ।

जिल्लालाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न समेत टेवा पुग्ने उनको दाबी छ । कार्यक्रममा लुम्बिनी विश्वविद्यालका उपकुलपति तिलक आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका डिन अनिल पोखरेललगायतको उपस्थिति छ ।

Share This:
सम्बन्धित खबर
Loading...