काठमाडौँ, १२ फागुन । अव्यवस्थित रूपमा राखेका इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेको अव्यवस्थित तर र बिजुली पोल–पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो ।
यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकाले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।
“महानगरपालिकालाई सुन्दर र स्मार्ट सहर बनाउने हाम्रो अभियानलाई चुनौती दिँदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरूले सहरलाई नै कुरूप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरूलाई विशेष ध्यानाकर्षण गराउँदछौँ,” सूचनामा भनिएको छ, “यदि ७ दिनभित्र सम्बन्धित निकायले यस्ता तर आफैँ नहटाए ललितपुर महानगरले कारबाही गर्ने जानकारी गराइन्छ ।”